प्रतिनिधि सभाको बैठक दिउँसो २ बजे बस्दै

काठमाडौं । जेठ २६, प्रतिनिधि सभाको सोमबारको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ।
उक्त बैठकअघि प्रमुख प्रतिपक्षी दल नेता पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन्।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहालले रास्वपा, एकीकृत समाजवादीलगायत संविधान र गणतन्त्र पक्षधर दलहरूलाई बैठकमा बोलाएका छन्। राप्रपालाई प्रतिपक्षी दलहरूको बैठकमा बोलाइएको छैन।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षीहरूले केही दिनदेखि प्रतिनिधि सभा बैठक अवरोध गर्दै आएका छन्।
दलहरूले आइतबार पनि पटक पटक छलफल गरी सदनको गतिरोध अन्त्यका लागि भूमिका खेलेका थिए। तर अपराह्न ५ बजे बसेको बैठक प्रतिपक्षी दलहरूको अवरोधका बीच चल्न सकेन र आज दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो।
दलहरूबीच अहिलेसम्म समझदारी नबनेकोले आजको प्रतिनिधि सभा बैठक सञ्चालन हुने वा नहुने यकिन भइसकेको छैन।