गर्मीको कहर: बेलौरीमा दुई दिन विद्यालय बन्द

काठमाडौं । जेठ २७, अत्यधिक गर्मी बढेपछि कञ्चनपुरको बेलौरी नगरपालिकाले नगरभित्रका सम्पूर्ण विद्यालयहरू दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरबाट जोगाउन आज र भोलि बिदा दिने निर्णय गरिएको हो।
नगरप्रमुख पोतिलाल चौधरीका अनुसार यो बिदा पछि आउने बर्खे बिदाबाट कट्टा हुने गरी मिलाइनेछ। नगरप्रमुखस्तरीय निर्णयबाट नगरभित्रका सबै सामुदायिक तथा निजी विद्यालयहरूमा यो नियम लागू हुनेछ।
पछिल्ला केही दिनयता बढेको प्रचण्ड गर्मीले बेलौरी क्षेत्रको जनजीवन पनि प्रभावित बनेको छ। दिउँसोको समयमा तातो हावा चल्ने र तापक्रम असह्य हुँदा मानिसहरूलाई घरबाहिर निस्कनसमेत मुस्किल परेको छ। यसको असरले दिउँसो बजार तथा राजमार्ग क्षेत्रहरूमा चहलपहल घटेर लगभग सुनसान देखिन थालेको छ।
गर्मीसँगै स्वास्थ्य समस्याहरू पनि बढेका छन्। स्थानीय स्वास्थ्य संस्थाहरूमा रिङ्गटा लाग्ने, टाउको दुख्ने, ज्वरो आउने र आँखा पाक्ने जस्ता समस्या लिएर आउने बिरामीहरूको संख्या बढेको स्वास्थ्यकर्मीहरूले बताएका छन्। चिकित्सकहरूले सर्वसाधारणलाई सकेसम्म दिउँसोको समयमा घरबाहिर ननिस्कन र प्रशस्त झोलिलो पदार्थ पिउन सुझाव दिएका छन्।