१५ दिन अगाडि नै प्रवेश गरेको मनसुन किन सक्रिय हुन सकेन ?

काठमाडौं । जेठ २७, सरदर मितिभन्दा अगाडि नै नेपाल भित्रिएको मनसुन कोशी प्रदेशभन्दा पश्चिम बढ्न नसक्दा देशभर बढेको प्रचण्ड गर्मीबाट अब केही दिनमै राहत मिल्ने संकेत देखिएको छ । मौसमविदहरूका अनुसार, मनसुनलाई रोकिराखेको प्रणाली कमजोर बन्दै गएको र वर्षा गराउने नयाँ प्रणाली विकसित भइरहेकोले अबको एक-दुई दिनभित्रै गर्मीबाट राहत मिल्ने छ ।
यस वर्ष जेठ १६ गते नै मनसुन पूर्वी नेपालबाट भित्रिए पनि पश्चिमी वायुको बलियो प्रभावका कारण यो देशव्यापी रुपमा फैलिन सकेको छैन। जल तथा मौसम विज्ञान विभागका अनुसार, बंगालको खाडीबाट आउनुपर्ने मनसुनी वायुलाई पूर्वी एसिया (फिलिपिन्स, ताइवान) तिर बनेको शक्तिशाली न्यूनचापीय क्षेत्रले आफूतिर तानेपछि नेपालमा मनसुन कमजोर बनेको हो। यसैकारण मनसुन भित्रिएको घोषणा भए पनि देशका अधिकांश भागमा पानी पर्न नसकी गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ ।
तर, अब मौसममा सकारात्मक परिवर्तन देखिन थालेको छ। मौसमविद गोविन्द झाका अनुसार पूर्वी एसियातिर मोडिएको मनसुनी वायुको केही हिस्सा नेपालतर्फ फर्कन थालेको छ। साथै, बंगालको खाडी र मध्य भारतमा पनि वर्षा गराउने नयाँ प्रणालीहरू विकसित हुँदैछन् । यी सबै प्रणालीको संयुक्त प्रभावले अबका केही दिनमा नेपालमा राम्रै वर्षा हुने सम्भावना छ।
मौसमविदहरूले तत्कालै मनसुनी झरी जस्तो लगातार पानी नपरे पनि बेलाबेलामा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने बताएका छन्। यसको प्रभावले चर्को घामबाट राहत मिल्नुका साथै तापक्रममा समेत गिरावट आउनेछ। यसको संकेत स्वरूप आजैदेखि सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा वर्षा सुरु भइसकेको छ।
विभागले यस वर्षको मनसुन अवधिमा समग्रमा सरदरभन्दा बढी पानी पर्ने र गर्मी पनि बढी नै हुने प्रक्षेपण गरेको छ। जलवायु परिवर्तनको असरले मनसुनको चरित्रमा आइरहेको फेरबदल र विशेषगरी हिमाली क्षेत्रमा समेत बढ्दो तापक्रम र वर्षाको पूर्वानुमानले विपद्को जोखिम भने बढाएको विज्ञहरूले बताएका छन्।