प्रतिनिधिसभा बैठक आज बस्दै, विपक्षीको अवरोधले अन्योल कायमै

काठमाडौं । जेठ २८,संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। तर, ‘भिजिट भिसा’ प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दलहरूले लगातार संसद् अवरुद्ध गर्दै आएकाले आजको बैठक पनि सुचारु हुन सक्नेमा अनिश्चितता बढेको छ। यही अवरोधका कारण सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको महत्वपूर्ण छलफल सुरु हुन सकेको छैन।
गत जेठ १३ गतेदेखि नै कायम रहेको यो गतिरोध अन्त्यका लागि सत्तापक्ष र प्रतिपक्षबीच पटक–पटक वार्ता भए पनि कुनै सहमति जुट्न सकेको छैन, जसका कारण प्रतिनिधिसभा बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न असफल हुँदै आएको छ।
यदि आज दलहरूबीच सहमति जुटेर बैठक सञ्चालन भएमा भने केही महत्त्वपूर्ण कार्यसूचीहरू रहेका छन्। संसद् सचिवालयका अनुसार, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि सामान्य छलफल सुरु गरियोस्’ भनी प्रस्ताव पेस गर्ने कार्यक्रम छ। त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पनि पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।