नेपालको विमानस्थल भारतीयका लागि ‘ट्रान्जिट’, आठ वर्षमा अवैध रुपमा ७५ हजार बाहिरिए

काठमाडौं । जेठ २८, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रिवि) भिजिट भिसाको आवरणमा मानव तस्करीको केन्द्र मात्र नभई भारतीय नागरिकका लागि तेस्रो मुलुक जाने प्रमुख ‘ट्रान्जिट’ बनेको डरलाग्दो तथ्य सार्वजनिक भएको छ। अख्तियारले छानबिन गरिरहेको यस प्रकरणमा पछिल्लो आठ वर्षमा ७५ हजारभन्दा बढी भारतीय नागरिकले त्रिभुवन विमानस्थल प्रयोग गरी खाडी र अन्य मुलुकको यात्रा गरेको पाइएको हो।
अध्यागमनको तथ्याङ्कअनुसार विसं २०७४ फागुनदेखि हालसम्म ७५,८६४ भारतीय नागरिकले नेपालको बाटो प्रयोग गरेका छन्। यो समस्या कुनै एक सरकारको पालामा मात्र सीमित नभएर हरेक गृहमन्त्रीको कार्यकालमा निरन्तर चलेको देखिन्छ। बालकृष्ण खाणको कार्यकालमा सबैभन्दा धेरै २४ हजारभन्दा बढी र रवि लामिछानेको पालामा दैनिक औसतमा सबैभन्दा बढी ५८ जना भारतीय बाहिरिएका थिए। अधिकांशलाई सम्बन्धित देशको ‘नो अब्जेक्सन लेटर’ (एनओसी) जस्तो अनिवार्य कागजपत्रबिना नै यात्रा अनुमति दिइएको थियो।
यसले मुलुकको राष्ट्रिय सुरक्षामा गम्भीर प्रश्न उठाएको छ। सुरक्षा विज्ञहरूले नेपाल-भारत खुला सिमानाको फाइदा उठाउँदै अन्तरदेशीय अपराधी र आतंकवादी समूहले समेत यो रुटको दुरुपयोग गर्न सक्ने चेतावनी दिएका छन्। प्रहरीका पूर्वएआईजी बमबहादुर भण्डारीले अध्यागमन पासपोर्टमा छाप लगाउने निकाय मात्र नभई शङ्कास्पद गतिविधिमाथि कडा निगरानी राख्ने संयन्त्र हुनुपर्ने बताएका छन्।
यस विषयमा अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले अन्य देशका नागरिकले त्रिभुवन विमानस्थल प्रयोग गर्नु सामान्य भए पनि सुरक्षालाई प्राथमिकतामा राखिने बताएका छन्। उनका अनुसार, अबदेखि एनओसी र अन्य ट्राभल एड्भाइजरीलाई कडाइका साथ लागु गरेर अध्यागमन सुरक्षा मजबुत बनाइएको छ।