फिल्म ‘मोहर’ को टिजर सार्वजनिक, देउकी प्रथाको कथा

सहयात्रा टिभी

काठमाडौं । जेठ २८, आगामी साउन २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘मोहर’को टिजर सार्वजनिक गरिएको छ। निर्माण टोलीले मंगलबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत १ मिनेट १८ सेकेन्ड लामो टिजर सार्वजनिक गर्दै फिल्मको कथावस्तुबारे उत्सुकता जगाएको छ।

सार्वजनिक टिजरले समाजमा जरा गाडेर बसेको ‘नलेखिएको नियम’ अर्थात् देउकी प्रथाजस्तो संवेदनशील विषयलाई उठाएको संकेत गर्छ। टिजरमा देखाइएको मन्दिरको दृश्य, माताको रुपमा प्रस्तुत पात्र र एक बालिकाको भयभीत अनुहारले फिल्मले यही सामाजिक कुरीतिलाई उजागर गर्न खोजेको अनुमान गर्न सकिन्छ।

टिजरको मुख्य आकर्षणको रूपमा नायक पल शाहको दोहोरो भूमिका देखिएको छ। लामो कपाल पालेका पलको कथा नायिका बेनिशा हमाल र बाल-कलाकार सारा शर्मासँग जोडिएको देखिन्छ भने छोटो कपालमा देखिएका पलको कथा नायिका नीति शाहसँग सम्बन्धित रहेको बुझिन्छ।

फिल्म मेकर्स प्रा.लिको प्रस्तुतिमा बनेको यस फिल्मका निर्माता चुम्बन जंग शाही हुन् भने लेखन तथा निर्देशन ओम प्रतिकले गरेका छन्। फिल्ममा पल शाह, बेनिशा हमाल र नीति शाहका साथै अर्जुन जंग शाही, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, बाल-कलाकार सारा शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ।

कुमार महर्जनको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, भूपेन्द्र अधिकारीको सम्पादन र दिपेन बस्न्यातको छायांकन रहेको फिल्मको टिजर साहिल खानले तयार पारेका हुन्।

प्रकाशित : 11 June, 2025

प्रतिक्रिया दिनुहोस्