आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

सहयात्रा टिभी

काठमाडौं । जेठ २९, हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार, आज दिउँसो र राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा देशका अन्य पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। यी क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

विशेषगरी, कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना औंल्याइएको छ। त्यसैगरी, उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको छ।

सतर्कता अपनाउन आग्रह

भारी वर्षाका कारण ती क्षेत्रका नदीनालामा पानीको बहाव बढ्न सक्ने, भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। साथै, मेघगर्जन र चट्याङबाट हुन सक्ने क्षतिबाट बच्न र यातायात तथा कृषि क्षेत्रमा पर्न सक्ने प्रभावबारे सजग रहन समेत सर्वसाधारणमा सूचित गरिएको छ।

प्रकाशित : 12 June, 2025

प्रतिक्रिया दिनुहोस्