अनेरास्ववियुमा नेतृत्व चयन गर्न आज मतदान, अध्यक्षमा सुजन र प्रकाशबीच प्रतिस्पर्धा

सहयात्रा टिभी

काठमाडौं । जेठ २९, नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। कीर्तिपुरमा जारी २४औं राष्ट्रिय सम्मेलनमा पटक-पटकको प्रयासका बाबजुद नेतृत्वमा सहमति जुट्न नसकेपछि निर्वाचन हुन लागेको हो।

निर्वाचन समितिले आज बिहान ८ बजेदेखि मतदान सुरु हुने जनाएको छ। मतदानका लागि ४० भन्दा बढी विद्युतीय मेसिन तयारी अवस्थामा राखेको छ। देशभरबाट सम्मेलनमा सहभागी भएका १५ सयभन्दा बढी प्रतिनिधिले मतदान गरी पदाधिकारीसहितको नयाँ कार्यसमिति चयन गर्नेछन्।

मुख्य पदमा प्यानलसहित प्रतिस्पर्धा

अध्यक्ष पदमा सुजन कडरिया र प्रकाश पौडेलबीच मुख्य प्रतिस्पर्धा छ, उनीहरू प्यानलसहित चुनावी मैदानमा छन्। महासचिव पदका लागि आरके रोमश, दीपक धामी र सुनिल कँडेलबीच त्रिपक्षीय प्रतिस्पर्धा हुँदैछ।

यस्तै, खुला उपाध्यक्षमा विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी र गणेशबहादुर शाही उम्मेदवार छन् भने महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना सिवाकोटी, भवानी बजगाईं र आरती भट्टराईले उम्मेदवारी दिएका छन्।

उपमहासचिवमा अमर बहादुर शाही, कमल जोशी र प्रेमिका शाहीबीच प्रतिस्पर्धा हुनेछ। सचिव पदमा रक्षा बम, रोहित बम, मनोज राई, अनुप लामिछाने, स्मृती बराल, रेखा न्यौपाने, मदन भण्डारी, आकाश अधिकारीलगायतले उम्मेदवारी दिएका छन्।

प्रकाशित : 12 June, 2025

प्रतिक्रिया दिनुहोस्