डोटी र डडेल्धुरामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं । जेठ २९, जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा भारी वर्षासँगै बाढी र पहिरोको जोखिम बढेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी सुदूरपश्चिमका डोटी र डडेल्धुरा तथा लुम्बिनी र बागमती प्रदेशका नवलपरासी (पश्चिम), पाल्पा र चितवनका केही क्षेत्रमा आकस्मिक बाढीको सम्भावना औंल्याइएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, पछिल्लो केही घण्टामा डोटीको पश्चिम सेती र दिपायल तथा डडेल्धुराको साहुखर्क वर्षामापन केन्द्र र आसपासमा मध्यमदेखि भारी वर्षा मापन भएको छ। यी क्षेत्र भएर बग्ने साना खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने र भिरालो भूभागमा पहिरो जान सक्ने जोखिम रहेकाले दिउँसोसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अपिल गरेको छ।
यसैगरी, नवलपरासी पश्चिमको देउराली, चितवनको शक्तिखोर र पाल्पाको बलड्याङगढी क्षेत्रका खोलानालामा पनि पानीको बहाव आकस्मिक रूपमा बढ्न सक्ने भन्दै सजग गराइएको छ।
महाशाखाले हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै कोशी प्रदेशमा मनसुनी वायु पनि सक्रिय रहेको जनाएको छ।
वर्षाको मापन कसरी गरिन्छ ?
महाशाखाका अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का, १० देखि ५० लाई मध्यम, ५० देखि १०० लाई भारी, १०० देखि २०० लाई धेरै भारी र २०० मिलिमिटरभन्दा माथिलाई अति भारी वर्षा मानिन्छ।