अनेरास्ववियुको नयाँ नेतृत्वका लागि मतदान सुरु, मत परिणाम आजै आउने

सहयात्रा टिभी

काठमाडौं । जेठ २९, अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा विद्युतीय मतदान मेसिनमार्फत मतदान भइरहेको छ।

नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा डा. सुजन कडरिया र प्रकाश पौडेलबीच मुख्य प्रतिस्पर्धा छ। जेठ २५ गतेदेखि सुरु भएको महाधिवेशन हिजो नै सम्पन्न हुने भनिए पनि मतदान प्रक्रियामा भएको ढिलाइका कारण लम्बिएको हो।

देशभरबाट सहभागी १५०० भन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले मतदानमा भाग लिइरहेका छन्। मत परिणाम आजै आउने जानकारी दिइएको छ ।

मुख्य पदमा प्यानलसहित प्रतिस्पर्धा

अध्यक्ष पदमा सुजन कडरिया र प्रकाश पौडेलबीच मुख्य प्रतिस्पर्धा छ, उनीहरू प्यानलसहित चुनावी मैदानमा छन्। महासचिव पदका लागि आरके रोमश, दीपक धामी र सुनिल कँडेलबीच त्रिपक्षीय प्रतिस्पर्धा हुँदैछ।

यस्तै, खुला उपाध्यक्षमा विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी र गणेशबहादुर शाही उम्मेदवार छन् भने महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना सिवाकोटी, भवानी बजगाईं र आरती भट्टराईले उम्मेदवारी दिएका छन्।

उपमहासचिवमा अमर बहादुर शाही, कमल जोशी र प्रेमिका शाहीबीच प्रतिस्पर्धा हुनेछ। सचिव पदमा रक्षा बम, रोहित बम, मनोज राई, अनुप लामिछाने, स्मृती बराल, रेखा न्यौपाने, मदन भण्डारी, आकाश अधिकारीलगायतले उम्मेदवारी दिएका छन्।

प्रकाशित : 12 June, 2025

प्रतिक्रिया दिनुहोस्