आज भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

सहयात्रा टिभी

काठमाडौं । जेठ ३१, नेपालको मौसममा अहिले मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव देखिएको छ । जसले गर्दा देशका विभिन्न भागमा मौसम बदली भई वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, खासगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुन सक्रिय छ भने पश्चिमी भू–भागमा स्थानीय वायुले पानी पारिरहेको छ। अहिले पनि गण्डकी, बागमती र लुम्बिनीलगायतका प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने केही स्थानमा भारी वर्षा समेत भएको छ।

आज दिउँसो पनि देशभरिको मौसम सामान्यतया बदली रहनेछ। कोशी, मधेश प्रदेश र अन्य पहाडी क्षेत्रका केही ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। विशेषगरी कोशी प्रदेशको पहाडी इलाकामा भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान छ। यसैगरी, उच्च पहाडी तथा हिमाली भेगमा हल्का पानी पर्ने वा हिमपात हुने सम्भावना देखिन्छ।

आज राति भने मौसम थप सक्रिय हुने देखिन्छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम पानी पर्नेछ। महाशाखाले कोशी र मधेश प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै विशेष सचेत गराएको छ।

वर्षा, विशेषगरी रातिको समयमा हुने भारी वर्षाले नदीनालामा पानीको बहाव बढाउन सक्ने, बाढी र पहिरोको जोखिम निम्त्याउन सक्ने तथा सडक र हवाई यातायातमा समेत अवरोध पुर्‍याउन सक्ने भएकाले महाशाखाले सबैलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। जोखिमपूर्ण क्षेत्रमा बस्नेहरूलाई थप चनाखो रहन पनि आग्रह गरिएको छ।

प्रकाशित : 14 June, 2025

प्रतिक्रिया दिनुहोस्