इजरायलमाथि इरानको जवाफी आक्रमण, मध्यपूर्वमा बढ्यो युद्धको खतरा

सहयात्रा टिभी

काठमाडौं । जेठ ३१,इरानले इजरायलमाथि सयौँ मिसाइल र ड्रोन प्रहार गरेपछि मध्यपूर्वमा तनाव उत्कर्षमा पुगेको छ । जसले यस क्षेत्रलाई ठूलो युद्धको सङ्घारमा धकेलेको छ। शुक्रबार मध्यराति र शनिबार बिहान इरानले गरेको आक्रमणले इजरायलका प्रमुख शहरहरूमा ठूलो क्षति पुर्‍याएको छ र जनजीवन अस्तव्यस्त बनाएको छ।

आक्रमणको निशानामा इजरायलका तेल अभिभ, हाइफा र जेरुसेलम जस्ता महत्त्वपूर्ण शहरहरू परेका थिए। आक्रमण सुरु भएलगत्तै देशभरका शहरहरूमा खतराको साइरन बजाइएको थियो र नागरिकहरूलाई तत्काल सुरक्षित आश्रयस्थलमा जान निर्देशन दिइएको थियो। इजरायली सेना (आडीएफ) का अनुसार इरानले १५० भन्दा बढी मिसाइल प्रहार गरेको थियो, जसमध्ये अधिकांशलाई इजरायली रक्षा प्रणाली र अमेरिकी सेनाको सहयोगमा आकाशमै निस्क्रिय पारिएको दाबी गरिएको छ।

यद्यपि, केही मिसाइलहरूले इजरायली भूमिमा ठूलो क्षति पुर्‍याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। तेल अभिभको मध्यभागमा रहेको एक भवनमा मिसाइलले क्षति पुगेको छ भने रामत गान क्षेत्रमा ९ वटा भवनहरू पूर्ण रूपमा ध्वस्त भएका छन्।

मानवीय क्षति र उद्धार कार्य

आक्रमणबाट मानवीय क्षति पनि भएको छ। इजरायली अधिकारीहरुका अनुसार इरानको मिसाइल आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ भने दर्जनौँ मानिस घाइते भएका छन् ।

तेल अभिभस्थित इचिलोभ अस्पतालमा मात्रै ७ जना घाइतेको उपचार भइरहेको छ, जसमध्ये एकको अवस्था गम्भीर छ। अर्को एक रिपोर्टमा, एउटा भवनमा मिसाइल खस्दा १४ जना घाइते भएको र एक ६० वर्षीया महिलाको अवस्था चिन्ताजनक रहेको उल्लेख छ।

इजरायली उद्धार टोलीहरू क्षतिग्रस्त भवनहरूमा फसेका मानिसहरूको खोजी र उद्धारमा जुटेका छन्। टाइबा गाउँलगायतका क्षेत्रमा दमकल र उद्धारकर्मीहरू परिचालित भएका छन्।

यसैबीच, इजरायली रक्षा बलले आम नागरिकहरूलाई सामाजिक सञ्जालमा आक्रमणबाट क्षति भएका स्थानका तस्बिर र भिडियोहरू पोस्ट नगर्न आग्रह गरेको छ। शत्रुले यस्ता जानकारीको प्रयोग आफ्नो आक्रमण क्षमता सुधार गर्न सक्ने भन्दै आईडीएफले सबैलाई जिम्मेवार बन्न र संवेदनशील जानकारी अनलाइनमा साझा नगर्न अनुरोध गरेको छ। यो घटनाले मध्यपूर्वको तनावलाई नयाँ र खतरनाक मोडमा पुर्‍याएको छ, र विश्वभरबाट यसलाई नियन्त्रण गर्न कूटनीतिक प्रयासहरू भइरहेका छन्।

प्रकाशित : 14 June, 2025

प्रतिक्रिया दिनुहोस्