बाग्लुङ जिप दुर्घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो

सहयात्रा टिभी

काठमाडौं । जेठ ३१, बाग्लुङको ढोरपाटन नगरपालिका–५ स्थित बतासेडाँडामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। बुर्तिबाङ बजारबाट यात्रु लिएर ढोरपाटन–५ को चौर जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको जिप सडकबाट करिब ६० मिटर तल खस्दा भएको उक्त दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएकी ढोरपाटन–२ की ७५ वर्षीया मनकुमारी थापाको शनिबार बिहान पोखराको मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएसँगै मृतकको संख्या चार पुगेको हो। यसअघि ढोरपाटन–२ कै ७० वर्षीय नरबहादुर कार्की र ७५ वर्षीया भीमकुमारी बुढाको घटनास्थलमै मृत्यु भएको थियो भने २१ वर्षीया टीकाकुमारी कुँवरको उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमै ज्यान गएको थियो।

दुर्घटनामा जिप चालकसहित १२ जना घाइते भएका छन्, जसमध्ये गम्भीर घाइतेहरूको पोखरास्थित मणिपाल अस्पताल र पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक आनन्द बस्नेतले जानकारी दिए।

घाइते हुनेहरूमा जिप चालक २७ वर्षीय गोविन्द थापासहित ढोरपाटन–२ का १८ वर्षीया लुम्बिनी महत, २३ वर्षीया इन्द्रा कुँवर, २९ वर्षीया निरमाया खत्री, ३८ वर्षीया देवी परियार, ५३ वर्षीया दुर्गी दर्जी, १२ वर्षीया अञ्जु परियार तथा ८ वर्षीय वियानो र ५ वर्षीय विनय बुढा मगर रहेका छन्। त्यस्तै, ढोरपाटन–५ की ३५ वर्षीया डल्ली विक र ३० वर्षीया टनमाया कुँवर तथा ढोरपाटन–१ का ११ वर्षीय शिशिर कार्की पनि घाइते भएका छन्।

१६ जना यात्रु सवार जिप अनियन्त्रित भई सडकबाट खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रकाशित : 14 June, 2025

प्रतिक्रिया दिनुहोस्