पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा ३ मजदुरको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । असार १, भारतको प्राविधिक सहयोगमा पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज जडानकै क्रममा भाँचिदा तीन जना मजदुरको मृत्यु भएको छ । उक्त दुर्घटनामा छ जना मजदुर घाइते भएकामा तीन जनाको मृत्यु भएको हो ।

मेची राजमार्ग अन्तर्गत फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ लाई जोड्ने हेवाखोलामा शनिबार साँझ उक्त दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार, दुर्घटनामा परी बाराको जितपुरसिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीको मृत्यु भएको छ। उनीहरूको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको पुष्टि भएको हो।

सोही दुर्घटनामा घाइते भएका सिमराकै भुलेश्वर चौधरी, प्रकाश चौधरी र अभिषेक चौधरीको नोबेल अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको छ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार, ७० मिटर लामो नयाँ प्रविधिको यो बेलिब्रिज जडान कार्य अन्तिम चरणमा पुगेका बेला एक्कासी भाँचिएको थियो। शनिबार नै पुल जडान सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।

उल्लेखनीय छ, २०८० असारमा आएको बाढीले हेवाखोलाको पक्की पुल बगाएपछि यातायात सुचारु गर्न अस्थायी बेलिब्रिज बनाइएको थियो। तर, गत वर्षकै असोज १२ गतेको बाढीले सो बेलिब्रिज पनि बगाएपछि राजमार्ग पुनः अवरुद्ध भएको थियो।

प्रकाशित : 15 June, 2025

प्रतिक्रिया दिनुहोस्