केदारनाथमा हेलिकप्टर दुर्घटना : पाइलटसहित सात जनाको मृत्यु

काठमाडौं । असार १, भारतको उत्तराखण्डस्थित केदारनाथ नजिकैको गौरीकुण्डमा हेलिकप्टर दुर्घटना हुँदा पाइलटसहित ७ जना यात्रुको मृत्यु भएको छ। मृत्यु हुनेमा एक २ वर्षीय बालक पनि रहेको जनाइएको छ। दुर्घटना आइतबार बिहान करिब ५:२० बजे भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आर्यन एभिएसन कम्पनीको उक्त हेलिकप्टरले तीर्थयात्रीहरूलाई बोकेर केदारनाथ मन्दिरबाट गौरीकुण्डका लागि उडान भरेको थियो। प्रारम्भिक जानकारी अनुसार, खराब मौसमका कारण दुर्घटना भएको बताइएको छ ।
उत्तराखण्ड सिभिल एभिएसन डेभलपमेन्ट अथोरिटीका अनुसार, हेलिकप्टरमा सवार यात्रुहरू उत्तराखण्ड, उत्तर प्रदेश, महाराष्ट्र र गुजरातका थिए। दुर्घटनालगत्तै गौरीकुण्डबाट उद्धार टोली घटनास्थलतर्फ पठाइएको छ।
घटनाप्रति दुःख व्यक्त गर्दै उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले भने, “रुद्रप्रयागमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको दुःखद खबर प्राप्त भएको छ। एसडीआरएफ, स्थानीय प्रशासन एवं अन्य उद्धार टोली राहत तथा बचाउ कार्यमा जुटेका छन्। म सबै यात्रुको सकुशलताको कामना गर्दछु।”
८ दिनअघि पनि भएको थियो आपतकालीन अवतरण
८ दिनअघि मात्रै, अर्थात् जुन ७ मा, रुद्रप्रयागमै प्राविधिक गडबडीका कारण एक हेलिकप्टरले सडकमा आपतकालीन अवतरण गरेको थियो। त्यस क्रममा हेलिकप्टरको पछाडिको भाग एउटा कारमा ठोक्किँदा भाँचिएको थियो भने कार पनि पूर्णरुपमा क्षतिग्रस्त भएको थियो। हेलिकप्टरको पंखाले राजमार्ग छेउको एक पसलको टिनको छाना उडाउँदा पसलमा रहेका मानिसहरूले भागेर ज्यान जोगाएका थिए। सो दुर्घटनामा भने कुनै मानवीय क्षति भएको थिएन ।