इरानद्वारा इजरायलमाथि क्षेप्यास्त्र प्रहार: ८ को मृत्यु, आणविक वार्ता रद्द

सहयात्रा टिभी

काठमाडौं । असार १, इरानले इजरायलका हाइफा र तेल अभिभ लगायतका सहरहरूलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ। आक्रमणमा परी कम्तीमा आठ जनाको मृत्यु भएको तथा १०० भन्दा बढी मानिस घाइते भएको स्वास्थ्यकर्मी तथा सञ्चारमाध्यमले जनाएका छन्।

इजरायली सेनाले इरानका नागरिक तथा ऊर्जा पूर्वाधारमा बमबारी गरेपछि इरानले यो प्रत्याक्रमण गरेको हो । इजरायली हमलाका कारण तेहरानस्थित शाहरान तेल केन्द्रमा आगलागी भएको छ। यसअघि, इजरायली सेनाले “इरानी सत्ताको आणविक हतियार परियोजनासँग सम्बन्धित” स्थानहरूलाई निशाना बनाएको दाबी गरेको थियो।

तेहरानको तेल मन्त्रालयले इजरायली हमलामा राजधानीस्थित शाहरान तेल डिपोलाई निशाना बनाइएको पुष्टि गरेको छ।

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले यदि इजरायल पछि नहटे ‘अझै कडा’ जवाफ दिने चेतावनी दिएका छन्।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो इजरायली हमलामा अमेरिकाको कुनै संलग्नता नरहेको बताएका छन्। यद्यपि, उनले इरान र इजरायलबीच ‘सहजै’ सम्झौता हुन सक्ने धारणा व्यक्त गरे।

ट्रम्पले इजरायल र इरानबीचको पछिल्लो द्वन्द्वमा अमेरिकाको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्। आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा एक पोस्ट गर्दै ट्रम्पले भनेका छन्, “आज राति इरानमा भएको हमलामा अमेरिकाको कुनै हात थिएन।”

यो भनाइ यस्तो समयमा आएको हो, जब इरानले अमेरिका र उसका सहयोगी राष्ट्रहरूलाई तेहरानको जवाफी हमला रोक्न इजरायललाई सहयोग नगर्न चेतावनी दिएको थियो।

ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै थपे, “यदि इरानले हामीमाथि कुनै पनि किसिमले हमला गर्‍यो भने, अमेरिकी सशस्त्र बलको सम्पूर्ण शक्ति र सामर्थ्य यस्तो स्तरमा खनिनेछ, जुन पहिले कहिल्यै देखिएको थिएन।”

उनले अगाडि लेखेका छन्, “यद्यपि, हामी सजिलै इरान र इजरायलबीच एक सम्झौता गराएर यो रक्तपातपूर्ण द्वन्द्व अन्त्य गर्न सक्छौं ।

यो तनाव यस्तो समयमा बढेको हो जब वाशिंगटन र तेहरानबीच आइतबार इरानको आणविक कार्यक्रमबारे वार्ता पुनः सुरु हुने तय थियो । तर, मध्यस्थकर्ता ओमानका अनुसार अब उक्त वार्ता रद्द गरिएको छ।

प्रकाशित : 15 June, 2025

प्रतिक्रिया दिनुहोस्