संसद् अवरोधको स्वरुपबारे छलफलमा जुटे रास्वपा

काठमाडौं । असार २, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसद् अवरोधको स्वरुपबारे आन्तरिक छलफलमा जुटेको छ ।
नयाँ वानेश्वर स्थित पार्टीको संसदीय दलको कार्यालयमा भेला भएर नेताहरू संसद् अवरोधको स्वरुपबारे छलफलमा जुटेका हुन् ।
आन्तरिक छलफलमा जुट्नु अगाडि रास्वपाका नेताहरूले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेका छन् ।
सभामुखको सचिवालयका अनुसार सभामुखले बिहान सरकारी निवास बालुवाटारमा रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र प्रमुख सचेतक सन्तोष परियारलाई बोलाएका थिए ।
सभामुखको सचिवालयका अनुसार भेटमा सभामुखले भनेका छन्, ‘दुई सातादेखि विपक्षीको अवरोधले संसद बन्धक भयो । बजेटबारे ब्यापक छलफल गर्नुपर्ने, समृद्ध बनाउने बेला संसद अबरूद्ध हुँदा जनतामा गलत सन्देश गएको छ ।’
तथापि, सभामुखले विपक्षीले उठाएका मुद्दा गम्भीर रहेको बताएका छन् । गम्भीर भएकै कारणले दुई सातासम्म संसदलाई सहमतिका लागि रोकेको बताएका छन् । तर, अब रोक्ने अवस्था नरहेको जवाफ रास्वपालाई सभामुखको छ ।
संसदको नेतृत्वका हिसाबले आफूले संवैधानिक सीमालाई पनि ख्याल गर्ने उनले बताएका छन् ।
रास्वपाका नेताद्वय अर्याल र परियारसँग सभामुखले करिब एक घण्टा छलफल गरेका थिए । तथापि, संसद्को अवरोध खुल्ने वातावरण नबनेको नेताहरू बताउँछन् ।
सभामुखसँगको भेटपछि रास्वपा आन्तरिक छलफलमा जुटेको हो ।