कोशी, मधेश र बागमतीमा भारी वर्षाको सम्भावना

काठमाडौं । असार २, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश भागमा मौसम बदली भई वर्षाको सम्भावना छ। पूर्वी तथा मध्य क्षेत्रमा मनसुनी वायु र पश्चिमी क्षेत्रमा स्थानीय वायुको प्रभावका कारण मौसममा फेरबदल आएको हो।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान छ। विशेषगरी कोशी, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागमा पनि हल्का वर्षा र हिमपातको सम्भावना छ।
त्यस्तै, आज राति पनि वर्षाको क्रम जारी रहनेछ। राति कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ भने यी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमबाट सतर्क रहन आग्रह गरेको छ।