उदयपुरमा युवक र किशोरीको शव फेला

काठमाडौं । असार ४, उदयपुरको चौदण्डीगढी नगरपालिका–४ अमलचौरीमा युवक र किशोरीको शव फेला परेको छ। बुधबार बिहान स्थानीय २८ वर्षीय रविन राई झुन्डिएको अवस्थामा र १४ वर्षीया मञ्जु राईको शव बाटोमा लडिरहेको अवस्थामा भेटिएको हो।
इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख इन्स्पेक्टर बबिन राईका अनुसार, स्थानीयले बिहान बाटोमा किशोरीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गर्ने क्रममा किशोरीको शव भेटिएको स्थानबाट करिब दुई सय मिटरको दूरीमा रविन राईको शव झुन्डिएको अवस्थामा फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी केदारमान दोङले घटनाको पुष्टि गर्दै अनुसन्धान सुरु गरिएको जानकारी दिए । “घटनाको प्रकृति रहस्यमय देखिन्छ। यो कसरी र किन घट्यो भन्नेबारे कारण पत्ता लगाउन अनुसन्धान थालिएको छ,” उनले भने । प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिई शव उठाउने कानुनी प्रक्रिया अघि बढाएको छ।