पूर्वमन्त्री शास्त्रीलाई सानेपामा श्रद्धाञ्जली

काठमाडौं । असार ४, पूर्वउद्योगमन्त्री एवं नेपाली कांग्रेसका दिवंगत केन्द्रीय सदस्य ढुण्डिराज शास्त्रीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ ।
९० वर्षीय शास्त्रीको उपचारका क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा सोमबार बिहान निधन भएको थियो ।
उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय, सानेपामा राखिएको छ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शास्त्रीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरे ।
श्रद्धाञ्जली अर्पण गर्न पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, नेता तथा कार्यकर्ताहरू सानेपास्थित कार्यालयमा भेला भएका छन्।
उनको निधनको शोकमा कांग्रेसले आफ्ना कार्यक्रमहरु स्थगित गरिसकेको छ । केन्द्रीय कार्यालयमा भइरहेको वातावरण सम्बन्धी प्रशिक्षण कार्यक्रम असार ४ गतेदेखि ६ गतेसम्मका लागि स्थगित भइसकेको छ ।