रास्वपाका नेताहरुमाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

काठमाडौं । असार ४, स्याङ्जामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेतामाथि रड प्रहार गर्ने कांग्रेसबाट निर्वाचित वडाध्यक्ष फरार भएका छन्।
वालिङ नगरपालिका-१० का वडाध्यक्ष सुनिल खनालले मंगलबार रास्वपा नेताहरू मेघ आले र दिनकर नेपालमाथि आक्रमण गरेका थिए।
आले रास्वपाको केन्द्रीय सदस्य हुन्। नेपाल पनि स्थानीय चल्तापुर्जा नेता हुन्।
उनीहरूले स्याङ्जाको आँधिखोलामा गैरकानुनी उत्खनन् गरेको भन्दै त्यसलाई रोक्नका लागि अभियान सञ्चालन गरेका थिए। मंगलबार नै संघर्ष समिति पनि गठन गरेको थियो।
समितिको कार्यक्रमबाट फर्किँदै गर्दा उनीहरूमाथि वालिङ-९ सुर्कौंदीमा वडाध्यक्ष खनालले रड प्रहार गरेका थिए।
रास्वपा नेता नेपालले वडाध्यक्षले आफूहरूलाई यसअघि पनि धम्की दिँदै आएको र मंगलबार बाटो छेकेरै आक्रमण गरेको बताएका छन्।
‘आँधीखोला दोहनविरूद्ध बोल्दै गर्दा वडाध्यक्षले हामीलाई धम्की दिएर निस्केका थिए, पछि बाटो छेकेर हामीलाई रड हाने,’ उनले भनेका छन्, ‘मैले रड हातले छेक्दा हातमा लागेको छ, हेल्मेट लगाएको भएर जोगिएँ।’
घटनापछि पीडित पक्षले प्रहरीमा जाहेरी समेत दिइसकेका छन्।
जाहेरी दर्ता भएको र वडाध्यक्ष खनालको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डिएसपी प्रशन्नराज चौधरीले जानकारी दिए।