जुम्लामा भेँडापालन किसानलाई प्रोत्साहन भत्ता

सहयात्रा टिभी

काठमाडौं । असार ४, जुम्लाका आठवटै स्थानीय तहका भेँडापालन किसानलाई प्रवर्द्धन गर्नका लागि प्रोत्साहन भत्ता अर्थात् (गोठालो भत्ता)को व्यवस्था गरिएपछि जुम्लाका किसान उत्साहित भएकाछन् ।

भेँडापालन प्रवरद्धन कार्यक्रम अन्तर्गत यहाँका करिब २३० जना भेँडापालक किसानलाई प्रोत्साहन भत्ता अर्थात् (गोठालो भत्ता) प्रदान गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय, जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले जानकारी दिए ।

कार्यालयबाट प्रदान गरिएको उक्त कार्यक्रमबाट भेँडा पालनमा थप व्यवसायमा टेवा पुगेको छ ।

जिल्लाको सिंजा गाउँपालिका–६ का भेडापालक किसान भीमबहादुर रावतले भने, ‘यो आवमा १८ हजार प्रोत्साहन भत्ता पाएको छु । अहिले १०० भन्दाबढी भेँडा रहेकाछन् ।

सो रकमले भेँडाको रोग उपचारदेखि अन्य खर्चमा सहयोग पुगेको भेँडापालक किसान रावतको भनाइ छ ।’
चालु आर्थिक वर्षमा यहाँका २३० जना भेँडा किसानले प्रोत्साहन भत्ता पाएकाछन् ।

कर्णाली प्रदेश सरकारले ५० भन्दा बढी भेँडा पाल्ने किसानलाई भत्ता दिँदै आएको छ । जिल्लामा करिब १७ सयभन्दा बढी भेँडा किसान छन् ।  जहाँ ८८ हजार ३८८ भेँडा र ४३ हजार ३०६ बाख्रा किसानले पालिएका छन् ।

जिल्लाभर ६९ हजार हेक्टर चरण क्षेत्र रहेको छ । सबैभन्दा बढी पातारासी गाउँपालिकामा भेँडा पाल्ने किसान रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय, जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले बताए ।

भौतिक संरचना, खर्क सुधार र चरण क्षेत्रको विस्तारमा यहाँका स्थानीय तहको ध्यान जान नसकेको तिला गाउँपालिका–१ भेँडा पालक किसान रुञ्ज रावतको भनाइ छ ।
कर्णाली प्रदेशको पशुपक्षी विकास निर्देशनालयले जुम्लालगायत कालिकोट, हुम्ला, मुगु र डोल्पामा यो कार्यक्रम लागू गरेको छ ।

प्रकाशित : 18 June, 2025

प्रतिक्रिया दिनुहोस्