टी-२० सिरिजमा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

काठमाडौं । असार ५, स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खलाको तेस्रो खेलमा आज नेपालले नेदरल्याण्डसँग खेल्दैछ। नेपाल र नेदरल्याण्ड्स बिचको खेल तितवुड क्रिकेट मैदानमा नेपाली समयअनुसार साँझ पौने ८ बजे सुरु हुनेछ। जारी श्रृङ्खलामा नेपालले पहिलो खेलमा नेदरल्याण्डसँग तेस्रो सुपर ओभरमा पुगेर हार बेहोरेको थियो। दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई २ विकेटले हराएको हो।
नेदरल्याण्ड्सले भने जारी श्रृङ्खलामा २ जित दर्ता गरिसकेको छ। पहिलो खेलमा घरेलु टिम स्कटल्याण्डसँग ३९ रनले पराजित भएको नेदरल्याण्ड्सले दोस्रो खेलमा नेपाललाई तेस्रो सुपर ओभरमा र तेस्रो खेलमा स्कटल्याण्डलाई १७ रनले हरायो। तालिकामा नेदरल्याण्ड हाल शीर्ष स्थानमा रहेको छ। समान १/१ खेल जितेका नेपाल र स्कटल्याण्डमा रनरेटमा अगाडि रहँदै स्कटल्याण्ड दोस्रो स्थानमा छ भने एक खेल जिते पनि नेपाल पुछारमा रहेको छ।
नेपाल र नेदरल्याण्ड बिच हालसम्म टी २० अन्तर्राष्ट्रियमा १४ खेल भएका छन्। जसमा ८ खेल नेदरल्याण्ड्सले जितेको छ भने ५ खेल नेपालले जित्दा १ खेल नतिजा विहीन बनेको छ। नेपालले सिरिजको अन्तिम खेलमा शुक्रबार स्कटल्याण्डसँग खेल्नेछ। आइसिसी क्रिकेट विश्वकप लिग २ को चौथो श्रृङ्खला सकिएपश्चात नेदरल्याण्ड्स स्कटल्याण्ड र नेपालले टिट्वान्टी अन्तर्राष्ट्रिय श्रृङ्खला खेलेका हुन्।