चीनले गरेको अन्वेषणबाट दैलेखमा मिथेन ग्याँसको भण्डार भेटियो

सहयात्रा टिभी

काठमाडौं । असार ५, चिनियाँ टोलीले दैलेखमा गरेको अन्वेषणबाट मिथेन ग्याँसको भण्डार भेटिएको छ ।

दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रुपमा पत्ता लागेको छ ।

चिनियाँ विज्ञ टोलीले नेपाललाई ५० वर्ष पुग्ने प्राकृतिक ग्याँस रहेको भनेर प्रारम्भिक रिपोर्ट दिएको भन्दै सरकारी अधिकारी उत्साहित देखिएका छन् ।

चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले २०८० वैशाख २८ गतेदेखि ड्रिलिङ अर्थात् जमिन खनेर अध्ययन थालेका थिए ।

त्यसका लागि ४ हजार मिटर गहिराइसम्म खनिएको थियो । त्यतिबेला जमिन मुनिबाट ग्याँसको गन्ध आएको थियो ।

तर ग्याँसको मात्रा र गुणस्तर लगायतका थप परीक्षणका लागि चट्टानका नमूना संकलन गरी चीन लगिएको थियो । त्यसको उद्देश्य दैलेखको ग्याँस व्यापारिक दृष्टिकोणले उपयुक्त छ कि छैन भन्ने पनि पत्ता लगाउनु थियो ।

मिथेन ग्याँस पेट्रोल–डिजेलको विकल्पमा स्वच्छ इन्धन मानिन्छ । दैलेखका विभिन्न स्थानहरुमा आगोको ज्वाला बल्ने गरेको छ । स्थानीयले दैवी शक्ति भन्दै पूजा गर्दै आएका छन् ।

तर विज्ञहरुले जमिन मुनि प्रज्ज्वलनशील ग्याँस भएको र त्यही बाहिर निस्किएर आगो बलेको पुष्टि गरेका छन् ।

उद्योग मन्त्री भण्डारीले चिनियाँ प्राविधिक टोलीले ड्रिल गरेको ठाउँबाट नेपाललाई ५० वर्षसम्म पुग्ने प्राकृतिक ग्याँस रहेको पुष्टि भएको बताए ।

उनले चिनियाँ प्राविधिक टोलीले विस्तृत रिपोर्ट दिएपछि ग्याँस उत्पादन प्रक्रिया सुरु गर्ने बताए ।

नेपालमा उत्पादित प्राकृतिक ग्याँसलाई व्यवसायिक प्रयोजनमा ल्याउन सके आर्थिक उन्नतिमा देशले फड्को मार्ने मन्त्री भण्डारीले बताए ।

 

प्रकाशित : 19 June, 2025

प्रतिक्रिया दिनुहोस्