ग्वार्को ओभरपास आजदेखि सञ्चालनमा आउँदै, प्रधानमन्त्रीले उद्घाटन गर्दै

सहयात्रा टिभी

काठमाडौं । असार ६, लामो समयदेखि प्रतीक्षा गरिएको ललितपुरको ग्वार्कोस्थित ओभरपास (फ्लाईओभर) आज (शुक्रबार) देखि औपचारिक रूपमा सञ्चालनमा आउँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रमका बीच ओभरपासको उद्घाटन गरेसँगै यसलाई सवारी आवागमनका लागि खुला गरिने भएको हो। यो ओभरपासले चक्रपथको उक्त व्यस्त खण्डमा हुने ट्राफिक जामलाई न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

२०७८ फागुन १२ गते दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ यो आयोजनाको ठेक्का सम्झौता भएको थियो। तर, निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि पटक-पटक म्याद थप गर्नुपरेको थियो।

आयोजनामा भएको ढिलाइका कारण यसको लागतमा पनि भारी वृद्धि भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार, सुरुमा करिब १७ करोड ६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएकोमा निर्माण सम्पन्न हुँदासम्म लागत बढेर ३१ करोड ४६ लाख रुपैयाँभन्दा बढी पुगेको छ। यो प्रारम्भिक अनुमानभन्दा करिब १४ करोड रुपैयाँले बढी हो।

सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रवक्ता प्रदीप भण्डारीका अनुसार, समयमा काम सम्पन्न गर्न नसकेकोमा निर्माण व्यवसायी कम्पनी आशिष–समानान्तर रेलिगेर जेभीलाई करिब १ करोड ४७ लाख रुपैयाँ हर्जाना तिराइएको छ।

यो ओभरपास चक्रपथको बीचको चार लेन सडकलाई माथि उठाएर निर्माण गरिएको हो। ५०० मिटर लामो अप्रोच सडकसहितको यो संरचनामा बालकुमारी र सातदोबाटोतर्फबाट र्‍याम्पहरू बनाइएका छन्।

अब चक्रपथमा गुड्ने सवारी साधनहरू ओभरपासको माथिल्लो भागबाट सीधा आवतजावत गर्नेछन् भने मंगलबजार र इमाडोलतर्फ जाने सवारी साधनहरू ओभरपासको तलबाट निर्बाध रूपमा चल्न सक्नेछन्। यसले ग्वार्को चोकमा हुने सवारी चापलाई व्यवस्थित गरी यात्रालाई सहज बनाउने विश्वास लिइएको छ।

प्रकाशित : 20 June, 2025

प्रतिक्रिया दिनुहोस्