रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा एउटै शैली अपनाए

सहयात्रा टिभी

काठमाडौं । असार ६, भिजिट भिसा प्रकरणलाई लिएर आन्दोलनरत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एउटै शैली अपनाएको छ ।

बिहीबारसम्म राप्रपा र रास्वपाको विरोधको शैली फरक थियो । राप्रपाका सांसदहरूले सदनको कामकारबाही बहिष्कार गर्दै आएका थिए । रास्वपाका सांसदहरूले वेल घेराउ र नारावाजी गर्दै आएका थिए ।

तर, शुक्रबार रास्वपाका सांसदहरूले समेत प्रतिनिधिसभाको कामकारबाही बहिष्कार गरे । यो सँगै राप्रपा र रास्वपाको विरोधको शैली मिलेको हो ।

बिहीबार राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा नभएर सबै दलको साझा मुद्दा रहेको बताएका थिए ।

भिजिट भिसा प्रकरणका सबै दल एकै ठाउँमा रहेर अगाडि बढ्नुपर्ने उनको अपिल थियो । ‘मानव बेचबिखनविरुद्ध हामी एकजुुट बनौं । यो कुनै व्यक्तिको कुरा होइन । कुनै दलको मात्रै मुद्दा होइन’ उनले भनेका थिए ।

जबसम्म भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन हुँदैन तबसम्म संसद् बैठक बहिष्कार गर्ने उनले बताएका थिए । शुक्रबारबाट रास्वपाका सांसदहरूले पनि संसद् बैठक बहिष्कार गर्न थालेका हुन् ।

प्रकाशित : 20 June, 2025

प्रतिक्रिया दिनुहोस्