सत्तारुढ दलकै सांसदले समेत बजेटमा असन्तुष्टि जनाए

काठमाडौं । असार ६, आगामी आर्थिक वर्षको बजेटमा सत्तारुढ दलकै सांसदले समेत असन्तुष्टि जनाएका छन् ।
नेपाली कांग्रेसका सांसद दीपक गिरी ‘बजेटमाथि खुसीका साथ कुरा राखौंला भन्ने आशा’मा थिए । तर, केही मन्त्रालयको बजेट हेर्दा गम्भीर भएर बोल्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।
बजेटको मन्त्रालयगत शिर्षकमाथिको छलफलमा बोल्न रोष्ट्रम पुगेका सांसद गिरीले भने, ‘यो बजेटले जनतालाई देखेन, न यो विकास मैत्री भयो । न लगानी मैत्री भयो । न त सरकार पक्ष सांसद मैत्री भयो ।’
बजेट शीर्ष नेता र त्यसमा पनि सत्तारुढ दलका शीर्ष नेता केन्द्रित हुन पुगेको उनको गम्भीर आरोप छ । ‘जो जो मन्त्रीजी हुनुहुन्छ, प्रधानमन्त्रीजी हुनुहुन्छ । त्यही मैत्री भयो जस्तो मलाई लाग्यो । बडो कठोरताका साथ भन्नुपर्छ’ गिरीले भने ।
पर्यटनसँग सम्बन्धित ११ वटा योजना झापाको एउटै निर्वाचन क्षेत्रमा परेको उनले बताए । ती योजनाहरूको नामै संसद्मा उनले सुनाए ।
सभामुख देवराज घिमिरेको निर्वाचन क्षेत्रमा समेत एउटा पर्यटनसम्बन्धी २१ लाखको एउटा योजना परेको भनेर उनले माया पाएको भनेर ब्यङ्ग्य गरे ।
नेपाली जनताले कठिन संघर्ष गरेर ल्याएको गणतन्त्रमा असमान रुपमा बजेट वितरण हुँदा दुःख लाग्ने गरेको उनले बताए ।