चितवनको भरतपुरले गर्यो नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौं । असार ८, चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
आइतबार १७औं नगरसभाको समुद्घाटन समारोहमा नगर प्रमुख रेणु दाहालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सार्वजनिक तथा निजी भवनहरूमा हरित छत बनाउने विषय समेटिएको छ ।
छतमा जस्ता पाता लगाउने कार्यलाई निरुत्साहित गर्दै लैजाने नीति अनुरूप हरित छत बनाउने नीति महानगरले लिएको नगर प्रमुख रेनु दाहालले बताइन् ।
चितवनमा घरका छतमा जताततै गर्मी छल्न भनेर टिनका ट्रस लगाउने गरेको पाइन्छ । महानगरपालिकाले मापदण्ड पुगेका सडक दायाँबायाँ वृक्षारोपण र नगरवासीलाई बहुवर्षीय एवम् फलफूलका विरुवा निस्शुल्क वितरण गर्ने र भरतपुरलाई हरियाली तथा फलफूलको शहरका रूपमा विकास गर्ने नीति लिइएको छ ।
पछिल्लो समयमा विकासका नाममा वर्षौं पुराना वरपिपलका चौताराहरू नाश हुने क्रम तीव्र बनेको बेला भरतपुर महानगरपालिकाले वरपिपलका चौताराहरू बनाउने र रोप्ने अभियान चलाउने जनाएको छ ।
महानगर भित्रका सार्वजनिक जग्गा तथा स्थानमा यस्ता कार्यलाई निरन्तरता दिँदै जाने महानगरले जनाएको छ । स्थानीय टोल विकास संस्थाहरूमार्फत वरपिपलका चौताराहरू बनाउने र संरक्षण गर्ने कार्यलाई अगाडि बढाउने नीति महानगरको छ ।