प्रतिनिधिसभाबाट आज विनियोजन विधेयक पारित हुँदै

सहयात्रा टिभी

काठमाडौं । असार १०, प्रतिनिधिसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८२’ लाई पारित गर्ने कार्यसूची रहेको छ । बिहान ११ बजे बस्ने बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पारित गर्नका लागि प्रस्ताव प्रस्तुत गर्नेछन्। यसका साथै, अर्थमन्त्री पौडेलले ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ लाई पनि विचार गरियोस् भनी संसदसमक्ष पेस गर्ने कार्यक्रम छ।

विनियोजन विधेयक संसदबाट अनुमोदन भएपछि सरकारलाई वार्षिक बजेटअनुसार विभिन्न मन्त्रालय, सरकारी निकाय तथा आयोजनाहरूका लागि छुट्याइएको रकम खर्च गर्ने कानुनी बाटो खुल्नेछ। यो विधेयकलाई सरकारको बजेट कार्यान्वयन गर्ने मुख्य कानुनी आधार मानिन्छ।

विधेयकमाथिको मतदान प्रक्रिया अघि, विभिन्न मन्त्रालयगत बजेट शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्। आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय, राष्ट्रिय योजना आयोगका साथै गृह, अर्थ, सञ्चार तथा सूचना प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र सहरी विकास मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिइनेछ।

बैठकमा विभिन्न सांसदहरूले पेस गरेका खर्च कटौतीका प्रस्तावहरूलाई पनि निर्णयार्थ प्रस्तुत गरिने संघीय संसद् सचिवालयले जनाएको छ। यस्तो प्रस्ताव पेस गर्ने सांसदहरूमा अमरेशकुमार सिंह, प्रभु साह, दुर्गा राई, प्रेम सुवाल, अमनलाल मोदी, जनार्दन शर्मा, विमला सुवेदी, रेखा शर्मा, चित्रबहादुर केसी, शक्तिबहादुर केसी, हितराज पाण्डे, रामकुमार राई, देवेन्द्र पौडेल, माधव सापकोटा, रणेन्द्र बराली, ज्ञानु बस्नेत, उर्मिला माझी, अम्मरबहादुर थापा, छिरिङल्हामु लामा (तामाङ), नारायणी शर्मा, गंगा कार्की र लेखनाथ दाहाल रहेका छन् ।

प्रकाशित : 24 June, 2025

प्रतिक्रिया दिनुहोस्