सरकारी वकिल कार्यालयको तेस्रो तलाबाट एक जना थुनुवाले हाम फाले

काठमाडौं । असार १०, माइतीघरस्थित सरकारी वकिल कार्यालयको तेस्रो तलाबाट एक जना थुनुवाले हाम फालेका छन् ।
हाम फाल्ने व्यक्ति चोरीको कसुरमा पक्राउ परेका रामेछाप घर भएका मदन बस्नेत रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले बताए ।
८ असारमा म्याद थपका लागि लगिएको बेला उनी तेस्रो तलाको झ्यालबाट हाम फालेका थिए ।
तर, हाम फाल्ने क्रममा घाइते भएपछि उनी भाग्न भने पाएनन् । लगत्तै प्रहरीले नियन्त्रणमा लिएको थियो । हाम फाल्ने क्रममा उनको खट्टासमेत भाँचिएको एसपी बोहराले बताए । घाइते भएका उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको थियो । अहिले पनि उनको उपचार जारी रहेको छ ।
उनी चोरी आरोपमा पक्राउ परेका थिए । यसअघिका अन्य चोरीका घटनाहरुमा समेत उनको संलग्नता हुनसक्ने बताइएको छ । चोरीको आरोपमा उनलाई प्रहरी वृत्त बौद्धले पक्राउ परेर म्याद थपका लागि लगेको थियो ।
जुन घरमा चोरीको आरोपमा उनी पक्राउ परे त्यही घरमा यसअघि पनि चोरी भएको पाइएको छ ।