कैलालीमा भारी वर्षा, आज यी जिल्लामा बाढीको जोखिम

काठमाडौं । असार ११, कैलाली जिल्लामा भारी वर्षा भएको छ । पछिल्लो तीन घण्टामा कैलालीको गर्भा दरबार वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको हो ।
तस्वीर : एआई
उक्त क्षेत्र भएर बग्ने खुटिया खोलालगायत अन्य साना खोलाहरूमा बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यस्तै आज बिहानको मापनअनुसार कोशी, कर्णाली, नारायणी, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, नदीहरुको बहाव सतर्कता तह भन्दा तल र सामान्य अवस्थामा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज सिन्धुपाल्चोक, सिन्धुली, काभ्रेपलानचोक, धादिङ, गोरखा, तनहुँ, गुल्मी, कास्की, पर्वत, पाल्पा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, डोटी, डडेलधुरा, बैतडी, बझाङ र आसपासका जिल्ला भई बहने केही साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउने जोखिम रहेको छ ।