देशभर गर्मी बढेसँगै सङक्रामक रोगका बिरामी बढ्न थाले

काठमाडौं । असार ११, काठमाण्डौ उपत्यकासहित देशभर भाइरल ज्वरो, टाइफाइड, हैजा र झाडापखालाका बिरामी बढ्न थालेका छन् । गर्मी अनि मनसुनको बेला पानी पर्नेक्रम बढेसँगै सङक्रामक रोगका बिरामी बढ्न थालेका हुन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा आकश्मिक कक्षमै अहिले दैनिक सरदर सात जना बिरामी उपचारका लागि पुग्ने गरेका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाण्डौ उपत्यका र उपत्यका बाहिरका विभिन्न जिल्लामा सबैभन्दा धेरै झाडापखालाका बिरामी बढेका छन् ।
अस्ति सोमवारसम्म काठमाण्डौमा १९७, ललितपुरमा ६०, भक्तपुरमा ५५, काभ्रेमा ३७ र पर्सामा ४९ जना झाडापखालामा बिरामी फेला परेका छन् । यस्तै भक्तपुरमा ३७, दोलखामा ४, रुपन्देहीमा ३, भोजपुरमा २ र खोटाङमा २ जना हैजाका लक्षण भएका बिरामी छन् ।
टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनका अनुसार बर्खाको समय, चर्को गर्मी तथा खानपानको कारण ज्वरो, हैजा तथा झाडापखालाका बिरामी बढेका हुन् ।
पानीजन्य सङक्रमण रोगको जोखिम बढ्ने यो बेला व्यक्तिगत सरसफाइ र खानपानमा ध्यान दिनुपर्ने अनि विशेषगरी पालिकाले आवश्यक सतर्कता अपनाउनुपर्नेमा उहाँको जोड छ ।