हत्कडीसहित फरार भएका थुनुवा बालाजु बसपार्कबाट पक्राउ

काठमाडौं । असार १५, काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित फरार भएका थुनुवा बालाजु बसपार्कबाट पक्राउ परेका छन् ।
बसपार्क क्षेत्रबाट हत्कडीसहित फरार थुनुवा निराजनजंग ठकुरी भन्ने दशरथ शाही पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।
पश्चिम रूकुमको बाँफिकोट गाउँपालिका–१ घर भएका काठमाडौं गोंगबु बस्ने २१ वर्षीय उनी आइतबार अदालतबाट फरार भएका थिए ।
उनी चोरी कसुरमा पक्राउ परेका व्यक्ति हुन् । प्रहरी वृत सोह्रखुट्टेमा रहेका उनलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो ।
अदालतको ४ नम्बर इजलासमा थुनछेक बहस भइरहेका बेला पिसाब लाग्यो भन्दै ट्वाइलेट जाने निहुँमा हत्कडीसहित फरार भएका थिए ।