बालकको मृत्युपछि सिरहा अस्पतालमा तोडफोडको प्रयास

काठमाडौं । असार १५, प्रादेशिक अस्पताल सिरहामा चिकित्सकहरुको लापरबाहीले बालकको मृत्यु भएको भन्दै आफन्तजन र प्रहरीले अस्पतालमा तोडफोडको प्रयास गरेका छन् ।
त्यसक्रममा प्रहरी र बिरामीको समूहबीच झडप भएको हो । झडपको क्रममा ९ प्रहरीसहित १० जना घाइते भएका छन् ।
प्रहरीका अनुसार, दुई दिनदेखि निरन्तर ज्वारो आएपछि आइतबार बिहान अस्पताल भर्ना भएका सिरहा नगरपालिका–६ बसविट्टाका झल्लु महराका छोरा १० वर्षीय राजन महराको साँझ ५ बजेतिर मृत्यु भएको थियो ।
राजनलाई अस्पताल ल्याउँदा दूध र बिस्कुट खुवाएर ल्याएको तर, चिकित्सकले सुई लगाउने वित्तिकै चिच्याउँदै मृत्यु भएको ठूलीआमा सोभा महराले बताइन् । त्यसपछि चिकित्सक बेवास्ताले मृत्यु भएको भन्दै परिवार तथा स्थानीयवासी आक्रोशित भएका थिए ।
सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानका अनुसार, झडप नियन्त्रणमा लिन एक सेल अश्रुग्यास प्रहार गरिएको छ । आफन्तजनले प्रदर्शन गर्दै दोषी चिकित्सक र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सोहेन्द्र प्रसाद यादवमाथि कारबाहीको माग गरेका छन् ।