सौगात र बेनिशाको ‘सिटामोल’ टिजर सार्वजनिक, देखियो सम्बन्धको उतारचढाव

काठमाडौं । असार १६, साउन २३ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘सिटामोल’को आधिकारिक टिजर सार्वजनिक गरिएको छ। राष्ट्रिय धान दिवसको अवसर पारेर आइतबार सार्वजनिक गरिएको टिजरमा अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालबीचको सम्बन्धको कथालाई देखाइएको छ।
‘जुम्लेलीलाई जीवनजल नै गुन हजुर, रोल्पालीलाई सिटामोल नै सुन हजुर’ भन्ने मार्मिक न्यारेसनबाट सुरु हुने टिजरले दुई मुख्य पात्रको बाल्यकालदेखिको प्रेम, विवाह र त्यसपछिको दाम्पत्य जीवनमा आउने जटिलताहरूको सङ्केत गर्छ।
राजबहादुर सानेद्वारा निर्देशित यस चलचित्रको पटकथा निर्देशक साने र प्रदीप भारद्वाजले मिलेर लेखेका हुन्। सिमोस सुनुवारको प्रस्तुति रहेको ‘सिटामोल’लाई तुलसीदेवी फिल्म प्रालि र जुनतारा फिल्म्सले संयुक्त रूपमा निर्माण गरेका हुन्।
चलचित्रका निर्माता भूगोलकुमार कार्की र विकास राज जोशी हुन् भने अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माताका रूपमा रहेका छन्। सौगात र बेनिशाका अलावा फिल्ममा श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, हिउँवाला गौतम, सुशील पोखरेल लगायतका कलाकारहरूको पनि अभिनय छ।