अतिकम विकसित देशहरूले निष्पक्ष सर्तमा वित्तीय सहयोग चाहेका छन् : प्रधानमन्त्री ओली

सहयात्रा टिभी

काठमाडौं । असार १७, प्रधानमन्त्री केपी शर्मा ओलीले अतिकम विकसित देशहरूले निष्पक्ष सर्तमा आधारित अनुदान र सहुलियतपूर्ण वित्तीय सहयोग चाहेको बताएका छन्।

स्पेनको सेभियामा आयोजित विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले आफूहरू नियममा आधारित र समतामूलक विश्वव्यापी व्यापार प्रणालीको पक्षमा रहेको स्पष्ट पारे, जसबाट सबै देशले लाभ लिन सक्ने उनको भनाइ थियो।

अतिकम विकसित देशहरूको समूहको अध्यक्षको हैसियतमा बोल्दै उनले एक दशकअघि ‘अदिस अबाबा’ मा विश्वले यी देशहरूप्रति ऐक्यबद्धता जनाउने वाचा गरेको स्मरण गराए। यस अवधिमा विश्वको कुल गार्हस्थ्य उत्पादन ७५ ट्रिलियनबाट बढेर ११५ ट्रिलियन पुगे पनि देशहरूबीच र देशभित्रै असमानता झनै बढेको उनले बताए।

उनका अनुसार, अहिले विश्वलाई ऐक्यबद्धताको सबैभन्दा बढी आवश्यकता परेका बेला आधिकारिक विकास सहायता (ओडिए) भने घटिरहेको छ। ऋणको बोझले दक्षिणी गोलार्ध निसास्सिएको र विशेषगरी अतिकम विकसित देशहरूको ऋण पछिल्लो दशकमा तीनगुणाले बढेको जानकारी पनि उनले गराए।

प्रधानमन्त्री ओलीले भने, “व्यापार खण्डित छ, वृद्धि असमान छ, लगानी कमजोर छ र गरिबी यथावत छ।” विकसित देशहरूमा प्रविधि र नवप्रवर्तनले तीव्र गतिमा फड्को मारिरहे पनि अतिकम विकसित देशहरू गहिरो प्राविधिक र डिजिटल खाडलको सामना गरिरहेको उनको भनाइ थियो। यसले उनीहरूको आर्थिक तथा सामाजिक प्रगतिमा गम्भीर बाधा पुर्‍याएको छ।

कमजोर र अपर्याप्त पूर्वाधारले अतिकम विकसित देशहरूको सम्भावनालाई निरन्तर रोकिरहेको बताउँदै उनले विश्वव्यापी विकास मञ्चमा यी देशहरू सीमान्तकृत भएको र उनीहरूको आवाज राम्रोसँग नसुनिने गरेको उल्लेख गरे। यद्यपि, बहुआयामिक चुनौतीका बाबजुद अतिकम विकसित देशहरू आफ्ना जनताको शक्ति, सिर्जनशीलता र विकास साझेदारहरूको सहयोगबाट चुनौती पार गर्न दृढ रहेको उनले बताए।

प्रकाशित : 1 July, 2025

प्रतिक्रिया दिनुहोस्