निजामती विधेयकमा चलखेल गर्नेलाई कारबाही होस्, नसच्याएसम्म अघि बढ्दैन : शेखर कोइराला

सहयात्रा टिभी

काठमाडौं । असार १७, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निजामती सेवा विधेयकमा अनधिकृत रूपमा छेडखानी गरिएको भन्दै गम्भीर आपत्ति जनाएका छन्। उनले सर्वसम्मतिबाट संसदमा पेस भएको विधेयकलाई स्वार्थ समूहको हितमा परिवर्तन गर्नुलाई सामान्य घटना नभई अक्षम्य अपराधको संज्ञा दिएका छन्।

कोइरालाले यो कार्यलाई देश र जनताप्रतिको ‘घोर अपराध’ तथा सार्वभौम संसदमाथिको ‘अपमान’ भएको बताएका छन्।

उनले विधेयकमा स्वार्थ समूहको प्रलोभनमा परेर परिवर्तन गर्ने-गराउने कार्यमा संलग्न सबैलाई तत्काल पहिचान गरी हदैसम्मको कारबाही गर्न सरकारसँग माग गरेका छन्। साथै, उनले विधेयकलाई तत्काल पुरानै अवस्थामा फर्काउन पनि आग्रह गरेका छन्।

नेता कोइरालाले ‘कुलिङ पिरियड’ को व्यवस्था नराखी विधेयकलाई अगाडि बढाउन नदिने चेतावनीसमेत दिएका छन्। “यस प्रकरणमा जोडिएकाहरूलाई तुरुन्त हदैसम्मको कारबाही अगाडि बढाइ परिवर्तन गरिएको व्यवस्थालाई आजै पुरानै अवस्थामा लैजाऊँ,” उनले भने, “कुलिङ पिरियड नराखी यस विधेयकका अगाडिका काम कारबाही अगाडि बढ्नु हुँदैन र बढ्दैन।”

प्रकाशित : 1 July, 2025

प्रतिक्रिया दिनुहोस्