कूटनीतिक विवादले थाइल्यान्डकी प्रधानमन्त्री शिनावात्रा निलम्बनमा

काठमाडौं । असार १७, थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न शिनावात्रा निलम्बनमा पर्नुभएको छ ।
कम्बोडियासँगको कूटनीतिक विवादमा उहाँको आचरणको बारेमा छानबिन शुरू गर्दै थाइल्यान्डको संवैधानिक अदालतले निलम्बन गरेको हो ।
कम्बोडियासँग लामो समयदेखि चलिरहेको क्षेत्रीय विवाद मे महिनामा सीमापार झडपमा परिणत हुँदा एक कम्बोडियाली सैनिकको ज्यान गएको थियो ।
यही तनावबारेमा छलफल गर्न थाइल्यान्डकी प्रधानमन्त्री शिनवात्राले कम्बोडियाका पूर्वनेता हुन सेनलाई फोन गर्नुभएको थियो ।
त्यस बेला शिनावात्राले सेनलाई काका भनेर सम्बोधन गर्दै एक थाई सैन्य कमान्डरलाई आफ्नो ‘प्रतिद्वन्द्वी’ भनेर उल्लेख गरेको अडियो सार्वजनिक भएको छ ।
थाइल्यान्डका रूढीवादी सांसदहरूले यही फोनवार्तालाई लिएर प्रधानमन्त्री कम्बोडिया सामु झुकेको र सेनालाई कमजोर बनाएको आरोप लगाएका छन् ।
यो विषय संवैधानिक अदालतमा पुगेपछि अदालतले आजैदेखि लागू हुने गरी अन्तिम निर्णय नआउञ्जेलका लागि शिनावात्रालाई प्रधानमन्त्रीको जिम्मेवारीबाट निलम्बन गरेको बीबीसीले जनाएको छ ।
थाइल्यान्डको राजनीति वर्षौंदेखि रूढीवादी, सैन्य समर्थक, शाही समर्थक अभिजात वर्ग र शिनावात्रा परिवारबीचको सङ्घर्षले हावी भएको छ ।
शिनावात्रा परिवारलाई रूढीवादी, सैन्य समर्थक र शाही समर्थक अभिजात वर्गले थाइल्यान्डको परम्परागत सामाजिक व्यवस्थाका लागि खतरा मान्छन् ।
बुबा एवम् पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्राले शाही मानहानिको आरोपमा फौजदारी अदालतको सामना गर्नुपरेको दिन नै प्रधानमन्त्री ३८ वर्षीया पेटोङटार्न पनि निलम्बित हुनुभएको हो ।