राष्ट्रपति ट्रम्पले अघि सारेको विधेयकलाई अमेरिकी संसद्बाट पारित

सहयात्रा टिभी

काठमाडौं । असार २०, अमेरिकी संसद् अर्थात् कङ्ग्रेसले कर तथा खर्चसम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको विस्तृत विधेयकलाई पारित गरेको छ । कर तथा खर्चसम्बन्धी विधेयक ट्रम्पको दोस्रो कार्यकालको मुख्य एजेन्डामध्ये एक मानिएको छ ।

क्यापिटल हिलमा लामो रस्साकस्सीपछि तल्लो सदन प्रतिनिधिसभा अर्थात् हाउस अफ रिप्रेजेन्टेटिभ्सले त्यसलाई पारित गरेको हो । विधेयकको पक्षमा दुई सय १८ अनि विपक्षमा दुई सय १४ मत परेको बीबीसीले जनाएको छ ।

अमेरिकी कङ्ग्रेसका दुई सदन छन् । माथिल्लो सदन सिनेट र तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्स हो । तल्लो सदनले कर तथा खर्चसम्बन्धी विधेयक पारित गरेसँगै राष्ट्रपति ट्रम्पलाई महत्त्वपूर्ण जीत मिलेको विश्लेषण गरिएको छ।

यसअघि गएको मङ्गलवार माथिल्लो सदन सिनेटले जम्मा एक मतको अन्तरले यो विधेयक पारित गरेको थियो । ट्रम्पले रिपब्लिकनहरूको बहुमत भएको कङ्ग्रेसलाई तत्काल विधेयक पारित गरेर अन्तिम अनुमोदनका लागि पठाइसक्न आजसम्मको समयसीमा दिनुभएको थियो ।

विधेयकमा मुख्यगरी खाद्य सहयोग तथा स्वास्थ्योपचारमा दिइने अनुदान अनि स्वच्छ ऊर्जाका परियोजनालाई दिइने अनुदान कटौती गरेर खर्च बचत गर्ने उल्लेख छ ।

तल्लो सदनमा विपक्षी डेमोक्रेटिक पार्टीका प्रमुख नेता हकिम जेफ्रिजलेसदनको इतिहासमै सबैभन्दा लामो भाषण गरेर विधेयक पारित गर्नमा ढिलाइ गरिदिनुभएको थियो । उहाँले ८ घण्टा ४५ मिनेट बोल्नुभएको थियो । जेफ्रिजले यो कानूनले गरिब अमेरिकीलाई निकै असर पुर्‍याउने बताउनुभएको थियो ।

 

प्रकाशित : 4 July, 2025

प्रतिक्रिया दिनुहोस्