ह्याचरी उद्योग संघले भोलि देखि चल्ला उत्पादन तथा बिक्री गर्न रोक लगाउने

काठमाडौं । असार २२, नेपाल ह्याचरी उद्योग संघले भोलि (सोमबार) देखि लागु हुनेगरी कुखुराको चल्ला उत्पादन तथा बिक्री वितरणमा पूर्ण रोक लगाएको छ ।
संघको शुक्रबार बसेको भेलाले २३ असारदेखि २९ असारसम्मका लागि संघमा आवद्ध उद्योगीलाई बोइलर र कलर बोइलर (कोइलर) कुखुराको चल्ला उत्पादन तथा बिक्री गर्न पूर्णरूपमा रोक लगाउने निर्णय गरेको हो ।
पछिल्लो समय चल्ला उत्पादक किसानलाई समस्या परेको र लागत अनुसार मूल्य नपाएको भन्दै उक्त निर्णय गरिएको संघले जनाएको छ ।
संघ अध्यक्ष लक्ष्मीदास श्रेष्ठले ह्याचरी व्यवसायमा अहिले देखिएको विषम परिस्थिति मध्यनजर गर्दै उत्पादन तथा बिक्री बन्द गर्ने निर्णयमा पुगेको बताए ।
उनका अनुसार, अहिले बोइलर फार्मिङ गर्ने किसान ६ सय हाराहारी छन् । २ वर्ष अगाडिसम्म ह्याचरी उद्योगमा ३ सय ५० बढी फर्म आबद्ध थिए । तर, अहिलेसम्म आइपुग्दा १ सयभन्दा पनि कम मात्रै आबद्ध रहेको उनी बताउँछन् ।
नेपालमा अहिलेको बजार माग प्रतिसाता २० देखि २२ लाख मात्रै रहेको भए पनि उत्पादन भने प्रतिसाता ३० देखि ३५ लाख रहेको उनी बताउँछन् ।
चल्ला बिक्री नहुँदा उत्पादक दानासमेत खुवाउन नसक्ने अवस्थामा पुगेको उनी बताउँछन् । त्यसमा पनि किसान बैंकको ब्याज समेत तिर्न हम्मे परिरहेको उनको भनाइ छ ।
नेपाल पोल्ट्री महासंघ महासचिव दिनेशराज मिश्र सबै ह्याचरीको चल्लाको बिक्री मूल्य नआएर निरन्तर घाटा खानुभन्दा उत्पादन र बिक्री रोक्ने निर्णय किसानको पक्षमा भएको बताउँछन् ।
पञ्चकन्या बिडिङ फर्मका सञ्चालक रविन पुरी चल्ला उत्पादन धेरै हुँदा र बिक्री नहुँदा धेरै समस्या झेल्नुपरेको बताउँछन् ।
पछिल्लो समय किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन् । उनका अनुसार पहिला ३ सय ५० ह्याचरी दर्ता भएकोमा अहिले ८० मात्रै दर्तामा रहेका छन् ।