भगवान् रामको जन्म नेपालमै भएको भन्न डराउनुपर्दैन : प्रधानमन्त्री ओली

काठमाडौं । असार २३, प्रधानमन्त्रीले नेपालमा भगवान् रामको जन्म भएको यथार्थ भन्न डराउनु नपर्ने बताएका छन्।
नेकपा एमाले केन्द्रीय पर्यटन विभागद्वारा आयोजित ‘नेपालमा पर्यटनस् अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै उनले राम नेपालमा जन्मिएको आफ्नो दाबीलाई दोहोर्याएका हुन् ।
उनले भने, ‘हामी पर्यटनका कुरा गर्छौं तर नेपालमा राम जन्मिएका, अन्त कसैले भन्नुपर्यो नि, त्यत्तिकै कथा हालेर हुन्छ फलानु ठाउँमा जन्मिएको भनेर ‘ ।’
उनले थपे, ‘राम जन्मिएका नेपालमा हो । नेपालको भूमिमा पर्छ त्यो ठाउँ । उतिबेला पनि नेपालमै थियो भन्दिनँ म । के थियो के थिएन । ‘ अहिले त्यो भूभाग नेपालमा पर्छ ।’ उनले कोही रिसाउँछ कि भनेर सत्य कुरा बोल्न डराउन नहुने तर्क गरे ।
‘राम भगवान हुन् भने मान्नु नमान्नु आफ्नो कुरा हो । जसले रामलाई भगवान मान्छ रामको जन्मभूमि पवित्र ठाउँ हो’ उनले भने, ‘यति प्रचार गर्न सक्दैनौं हामी, यति भन्न सक्दैनौं, यति आँट गर्दैनौं । अप्ठेरो लाग्छ । को रिसाउँछ जस्तो लाग्छ ।’ उनले प्रश्न गरे, ‘साँचो बोल्दाखेरि रिसाउँछ जस्तो लाग्छ भने अनि हामीले के गरिखान्छौं ?’
उनले शिव, विश्वामित्र र कौशिक ऋषि पनि नेपालकै भएको बताए । ‘शिव यहींका हुन्, विश्वामित्र यहींका हुन् । मैले लेखेको होइन नि रामायण १’
प्रधानमन्त्री ओलीले वाल्मिकीकृत रामायणमा राम-लक्ष्मणलाई विश्वामित्रले नेपाली भूभागमै शिक्षा दिएको प्रसंग उल्लेख रहेको उनले सुनाए । ‘त्यो मैले लेखेको होइन नि । कोशी तरेर गएका हुन् भन्ने स्पष्ट छ । कोशीको किनारमा बस्ने भएकोले उनको नाम कौशिक राखिएको हो,’ उनले थपे ।