आन्दोलनरत डाक्टर र सरकारबीच आज साँझ वार्ता हुने

काठमाडौं । असार २४, नेपाल चिकित्सक संघको नेतृत्वमा देशभरका चिकित्सकहरु आन्दोलनमा उत्रेपछि सरकारले संवाद सुरु गरेको छ । मंगलबार दिउँसो प्रारम्भिक संवाद गरेको सरकारले फेरि बस्नेगरी स्थगित गरिएको छ ।
स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य मन्त्री प्रदीप पौडेल, कानुन मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच छलफल भएपछि आन्दोलनरत पक्षलाई बोलाइएको थियो ।
बैठकमा संघका अध्यक्ष डा. अनिल कार्की, महासचिव डा. सन्दिप तिवारी, संघका पूर्वअध्यक्ष डा. लोचन कार्की, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भुसाल लगायतको उपस्थिति थियो ।
संघका अध्यक्ष डा. अनिल कार्कीले औपचारिक रुपमा बोलाएपछि छलफलमा बस्ने बताए । स्वास्थ्य मन्त्रालयका अनुसार आज ६ बजे तीन जना मन्त्रीसहित संघका पदाधिकारी बस्नेगरी स्थगित भएको छ । मंगलबार बेलुकी नै सहमति गर्नेगरी दुवै पक्षले छलफल गर्ने तयारी गरेका छन् ।