अवरुद्ध बीपी राजमार्ग सञ्चालन

सहयात्रा टिभी

काठमाडौं । असार २५, खहरे खोलामा आएको बाढी र लेदोका कारण गए रातिदेखि अवरुद्ध बनेको बीपी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको छ।

इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार रोशी गाउँपालिकाका विभिन्न स्थानमा खसेको लेदो पन्छाइएपछि राजमार्ग दुईतर्फी नै सुचारु भएको हो। मंगलबार राति करिब १ बजेदेखि रोशी गाउँपालिका–९ को पिन्थलीबेशी, फेदीखोला र वडा नं. ७ को चारसय बेशीमा खहरेको लेदोले सडक अवरुद्ध पारेको थियो।

सडक विभाग, रोशी गाउँपालिका र प्रहरीको संयुक्त प्रयास तथा समन्वयमा डोजर प्रयोग गरी लेदो हटाइएको प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

राजमार्ग बन्द हुँदा काभ्रेतर्फ आउने सवारीलाई सिन्धुलीको खुर्कोटमा तथा सिन्धुलीतर्फ जाने सवारीलाई काभ्रेको काभ्रेभञ्ज्याङ र भकुण्डेमा रोकिएको थियो। सडक खुलेलगत्तै रोकिएका सवारीसाधनहरू आ-आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन्।

प्रकाशित : 9 July, 2025

प्रतिक्रिया दिनुहोस्