डेढ करोडसहित पक्राउ परेका चिनियाँ नागरिक बोधिचित्तको कारोबारी

काठमाडौं । असार २५, काठमाडौं महानगरपालिका–६, बौद्धको नयाँबस्तीबाट १ करोड ४४ लाख रुपैयाँसहित पक्राउ परेका चिनियाँ नागरिक बोधिचित्तको माला कारोबारी भएको खुलेको छ ।
आइतबार राति १० बजेतिर चिनियाँ नागरिक वाङ जियानको डेरामा प्रहरीले छापा मारेर प्रहरीले स्रोत नखुलेको भन्दै १ करोड ४४ लाख रुपैयाँ बरामद गरेको थियो । रकम बरामद भएपछि अनुसन्धान गर्ने क्रममा उनले आफू बोधिचित्तको माला खरिद गर्न आएको बताएका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहोरा भन्छन्, ‘उनले आफूलाई बोधिचित्तको माला किन्न आएको भनेर चिनाएका छन्, यो माला खरिद गर्ने सिजन पनि हो । तर, त्यो रकमको स्रोत नखुलेकाले नियन्त्रणमा लिइएको हो ।’
प्रहरीले हुण्डी कारोबारबाट त्यो रकम आएको हुनसक्ने अनुमान गरेको छ । पक्राउ परेका चिनियाँ नागरिक डेढ महिनाअघि मात्र भिजिट भिसामा काठमाडौं आएका थिए । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, उनले विजनेस भिसामा परिणत गर्ने तयारी समेत गरिरहेको सुनाएका थिए ।
प्रहरीले जिल्ला अदालत काठमाडौंबाट विस्तृत अनुसन्धानका लागि म्याद लिएर जाँच गरिरहेको काठमाडौंका एसएसपी विश्व अधिकारी बताउँछन् ।