तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी क्षतविक्षत

काठमाडौं । असार २६, चीनको तिब्बत क्षेत्रबाट गेग्रानसहित आएको बाढीले रसुवागढी क्षतविक्षत भएको छ । सडक, पुल, जलविद्युत् आयोजना, सवारी साधन लगायतमा बाढीले क्षति पुर्याएको छ ।
असार २४ गते बिहान तिब्बततर्फबाट आउने केरुङ र लेन्दे खोलाको बाढी भोटेकोशीमा मिसिएको थियो । सो बाढीमा परी ९ जनाको मृत्यु र २० जना सम्पर्कविहीन भएका छन् ।
बाढीले टिमुरे भन्सार यार्डमा रहेका मालवाहक कन्टेर र जाँचपासका लागि राखिएका विद्युतीय गाडीहरुलाई समेत बगाएको थियो ।
जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार करिब एक सय बढी गाडीहरु बगेको उल्लेख छ । भन्सार क्षेत्रमा रहेको ईभी चार्जिङ स्टेसन समेत पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।
बाढी घटेपछि क्षतविक्षत भएका गाडीहरुलाई हटाउने र सडक मर्मत गर्ने काम भइरहेको छ । विहीबार बिहानैदेखि डोजर र क्रेनको सहायताले गाडी र ठूला ढुंगाहरु पन्छाउने काम जारी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । खोज तथा उद्धारको काममा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली प्रहरीको टोली परिचालित भएका छन् ।