तिब्बतबाट आएको बाढीले रसुवागढी तहसनहस (तस्वीरहरु)

सहयात्रा टिभी

काठमाडौं । असार २६, चीनको तिब्बत स्थित ‘सुप्राग्लेसियल’ ताल फुटेर आएको हिमनदीजन्य बाढीले रसुवागढी क्षेत्रमा व्यापक विनाश गरेको छ। मंगलबार बिहान तिब्बतका केरुङ र लेन्दे खोला हुँदै भोटेकोशी नदीमा उर्लिएको बाढीले ९ जनाको ज्यान लिएको छ भने २० जना अझै सम्पर्कविहीन रहेका छन्।

बाढीले रसुवागढी नाकालाई क्षतविक्षत पारेको छ। टिमुरे भन्सार यार्डमा रहेका करिब एक सयभन्दा बढी मालवाहक कन्टेनर, जाँचपासका लागि राखिएका विद्युतीय गाडीहरू र अन्य सवारीसाधन बगाएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। भन्सार क्षेत्रमा रहेको ईभी चार्जिङ स्टेसन पनि पूर्ण रूपमा नष्ट भएको छ।

बाढीको वितण्डाले भौतिक पूर्वाधारमा अकल्पनीय क्षति पुर्‍याएको छ। रसुवागढी जलविद्युत् आयोजनाको सुरुङबाहेक बाँध, इन्टेक लगायतका संरचना क्षतिग्रस्त भएका छन्। एउटा गाडी आयोजनाको इन्टेकभित्रै पसेको बताइएको छ। यसैगरी, स्याफ्रुबेसी–रसुवागढी सडकखण्डको करिब १२०० मिटर भाग बाढीले बगाएपछि यातायात पूर्ण रूपमा ठप्प भएको छ।

अहिले बाढीको बहाव केही कम भएपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खोज, उद्धार र राहत कार्यमा खटिएको छ। डोजर र क्रेनको सहायताले सडकमा थुप्रिएका ढुंगा र क्षतविक्षत सवारीसाधन हटाउने काम भइरहेको छ। सडक अवरुद्ध हुँदा अलपत्र परेका स्थानीयहरूलाई सुरक्षाकर्मीले भीरमा डोरी टाँगेर र फड्के बनाएर जोखिमपूर्ण रूपमा आवतजावत गराइरहेका छन्। अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) का विज्ञहरूले तिब्बतमा हिमनदीमाथि बनेको ताल (सुप्राग्लेसियल लेक) फुटेर यो विनाशकारी बाढी आएको प्रारम्भिक विश्लेषण गरेका छन्।

प्रकाशित : 10 July, 2025

प्रतिक्रिया दिनुहोस्