क्याप्टेन रामेश्वर थापाको बायोग्राफी फिल्म ‘क्याप्टेन साब’ को मुहूर्त

सहयात्रा टिभी

काठमाडौं । असार २६, फिल्म ‘क्याप्टेन साब’ निर्माण हुने भएको छ। निर्माण टिमले बिहीबार काठमाडौंमा फिल्मको शुभमुहूर्त गर्दै फिल्मबारे जानकारी दिएको हो।

दीपेन्द्र के. खनालले निर्देशन गर्ने यो फिल्म क्याप्टेन रामेश्वर थापाको बायोग्राफी ‘इनटु द फायर’ मा आधारित रहेर बन्न लागेको हो। फिल्मको मुहूर्त सटमा व्यवसायी डा. उपेन्द्र महतोले क्ल्याप र क्याप्टेन थापाले निर्देशन गर्दै सुरूवात गरिएको थियो।

यो फिल्ममा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा रहनेछन्। दीपेन्द्रले यसअघि ‘धनपति’ मा खगेन्द्र र सुरक्षालाई मुख्य भूमिकामा लिएका थिए। त्यसयता एउटै फिल्ममा यी तीनजनाको यो पहिलोपटक सहकार्य हुन लागेको हो। दीपेन्द्र र खगेन्द्रले भने सँगै काम गर्दै आएका छन्।

निर्देशक खनालले भने, ‘क्याप्टेन साब एक फरक खालको फिल्म हुनेछ। क्याप्टेन रामेश्वर थापाको जीवनका उतारचढावसँगै सिनेम्याटिक लिबर्टी लिएर फुल इन्टरटेनमेन्ट फिल्म बनाउने छौं।’ क्याप्टेनले आकाशमा भोग्ने समस्या, स्थानीयस्तरमा पाउने सम्मान, व्यवसायमा जोडिन आउने विभिन्न तहका व्यक्तिलगायत पक्ष समेट्दा आफैमा गज्जबको फिल्म बन्ने विश्वास रहेको लेखक समेत रहेका खनालले बताए।

पटकथा प्रडक्सनको दोस्रो प्रस्तुति रहेको फिल्मको छायांकन भदौको पहिलो साताबााट सुरू हुने जनाइएको छ। काठमाडौंसहित चितवन र काभ्रेका विभिन्न स्थानमा छायांकन हुने फिल्म कृष्णबहादुर थापाले खिच्नेछन्। यार्सा स्टुडियोसँगै रिच इन्टरटेन्मेन्ट पनि जोडिएको यो फिल्ममा निर्मातामा निर्देशक दीपेन्द्र स्वयंसँगै करण श्रेष्ठ र श्रृष्टिमा खनाल छन्। कार्यकारी निर्मातामा सिर्जना नापित छिन्।

प्रकाशित : 10 July, 2025

प्रतिक्रिया दिनुहोस्