राप्रपा छाडेका गुप्ताले गरे रुपन्देही–३ मा स्वतन्त्र उम्मेदवारी घोषणा

काठमाडौं । असार २६, केही समय अघि राप्रपा परित्याग गरेका भैरहवाका अजयकुमार गुप्ताले आगामी कार्तिक १७ मा हुने रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् ।
बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी गुप्ताले उम्मेदवार बन्ने घोषणा गरेका हुन् । इँट्टा उद्योगी र विभिन्न संघसंस्थामा आबद्ध गुप्ताका बुबा रतनकुमार गुप्ता सिद्धार्थनगर नगरपालिकाका पूर्वउपमेयर थिए ।
आफूलाई विभिन्न दलहरूले प्रस्ताव गरेपनि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेको जानकारी दिए । पत्रकार सम्मेलनमा उनले पछि कुनै दलसँग सहकार्य हुनसक्ने सम्भावना भने रहेको बताए ।
गुप्ताको उम्मेदवारी कायमै रहे राप्रपाको मत काटिने छ । रुपन्देही–३ मा यसअघि बुटवल मोतिपुरका लेखनाथ गैरेले पनि उम्मेदवार बन्ने घोषणा गरेका थिए । यस्तै काठमाडौं उपमहानगरका मेयर बालेन शाहका सल्लाहकार तिलोत्तमाका सन्तोष गिरीले पनि उम्मेदवारी दिने तयारी गरेका छन् ।
नेपाली कांग्रेसबाट बालकृष्ण खाँड, प्रमोद यादव, भरत शाह, रामचन्द्र ढकाल, रमेश खनाल, एमालेबाट खिमलाल भट्टराई, शशी पौडेल, भरत पोख्रेल लगायतको चर्चा छ ।
७ मधेशी दल आबद्ध मोर्चाबाट नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी दिने छ । रास्वपाबाट उम्मेदवारका आकांक्षी खुलेका छैनन् । राप्रपाबाट दीपक बोहराका छोराहरू गौरव बोहरा, प्रज्वल बोहरा र नातिनी स्वाति थापा उम्मेदवारका आकांक्षी छन् ।
गुप्ताले गत वैशाखमा मात्रै राप्रपा रुपन्देहीको उपाध्यक्ष पदबाट राजीनामा दिएका थिए । त्यसअघि पनि उनले पार्टी छोडेको घोषणा गरेका थिए तर पछि पुन: जोडिएका थिए ।