तिलोत्तमामा सहकारीका बचतकर्ताहरूले घेरे व्यवस्थापकको घर

सहयात्रा टिभी

काठमाडौं । असार २७, करिब १५ करोड रुपैयाँ अपचलनको आशंका गरिएको रुपन्देहीको तिलोत्तमा–३ स्थित डिंगरनगर दुरगामी बहुउद्देश्यीय सहकारीका बचतकर्ताहरूले संस्थाका अध्यक्ष, सचिव र व्यवस्थापकको घर घेराउ गरेका छन् ।

सहकारीका व्यवस्थापकले श्रीमतीसँग कागजी सम्बन्ध बिच्छेद गरेर उम्किन खोजेको भन्दै उनीहरूले बिहीबार साँझदेखि रातिसम्म अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर थापा र व्यवस्थापक बसन्त पराजुलीको घर घेराउ गरेका हुन् ।

व्यवस्थापकले जस्तै अध्यक्ष र सचिवले पनि किर्ते सम्बन्ध बिच्छेद गरेर सहकारीको करोडौं बचत अपचलनबाट उम्किन सक्ने संभावना देखेर परिवारका सदस्यलाई सचेत गराउन घर घेराउ गर्नुपरेको बचतकर्ता चेतबहादुर बस्नेतले बताए ।

सहकारीको रकम अपचलन गरेको प्रमाण बाहिरिएपछि अध्यक्ष तिवारी, सचिव थापा र व्यवस्थापक पराजुली सम्पर्कविहीन छन् । उनीहरूलाई खोजेर यथाशीघ्र सम्पर्कमा ल्याई बचत फिर्ताको ग्यारेन्टी गराउनुपर्ने माग बचतकर्ताले राखेका छन् ।

बचतकर्ताहरूले घर घेराउ गरेपछि सशस्त्र समेत ठूलो संख्यामा प्रहरी परिचालन गरी तोडफोड र अन्य अप्रिय घटना हुनबाट जोगाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी इन्द्रबहादुर रानाले बताए ।

 

प्रकाशित : 11 July, 2025

प्रतिक्रिया दिनुहोस्