क्यान्सरका दुर्लभ औषधि अब नेपालमा निःशुल्क, पहिलो खेप आइपुग्यो

सहयात्रा टिभी

काठमाडौं । असार २९, नेपालका क्यान्सर बिरामीहरूले अब उपचारमा प्रयोग हुने ३७ प्रकारका दुर्लभ र महँगा औषधिहरू निःशुल्क पाउने भएका छन्। अन्तर्राष्ट्रिय परोपकारी संस्था ‘डाइरेक्ट रिलिफ’ले उपलब्ध गराएको यो सहयोगले औषधिको अभावमा महँगो खर्च गरेर विदेश जानुपर्ने बाध्यतालाई कम गर्ने अपेक्षा गरिएको छ।

‘वन हर्ट वर्ल्डवाइड’ संस्थामार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिएको औषधिको पहिलो खेप नेपाल आइपुगेको छ। स्वास्थ्यमन्त्री प्रदीप पौडेलका अनुसार, डाइरेक्ट रिलिफले नेपालको आवश्यकताअनुसार आगामी ५ वर्षसम्म स्तन, छाला तथा अन्य विभिन्न क्यान्सरका औषधिहरू निरन्तर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले भने, “लामो प्रयासपछि हामीले यो सफलता पाएका छौँ। क्यान्सरको औषधि महँगो हुँदा विपन्न नागरिकलाई परेको समस्यालाई राज्यको लगानीविना नै समाधान गर्ने यो एक महत्वपूर्ण प्रयास हो।”

यी औषधिहरू तत्काल सरकारी क्यान्सर अस्पतालहरूमा पठाइने र बिरामीहरूलाई निःशुल्क वितरण गरिने व्यवस्था मिलाइएको छ। मन्त्रालयले भविष्यमा औषधिको सूची बढाएर थप नागरिकलाई राहत दिने प्रयास जारी राख्ने जनाएको छ। मन्त्रालयका समन्वय महाशाखा प्रमुख डा. भीम सापकोटाले ५ वर्षसम्म आवश्यकताअनुसार औषधि प्राप्त गर्ने गरी समझदारी भएको पुष्टि गरे।

प्रकाशित : 13 July, 2025

प्रतिक्रिया दिनुहोस्